पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन उद्योगीको माग

नेपाल पेन्ट उद्योग संघले पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले कच्चा पदार्थमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाउन नहुने माग गरेको हो ।


संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा पदार्थ आयातमा फरक–फरक शुल्क भएको भन्दै विदेशी पेन्ट कम्पनीसँग प्रतिष्पर्धा गर्नका लागि भन्सार शुल्क घटाउनु पर्ने बताए ।


‘विदेशी पेन्ट र कच्चा पदार्थ आयातमा समान ३० प्रतिशत भन्सार शुल्क छ,’ उनले भने, ‘यसले विदेशी पेन्टसँग प्रतिष्पर्धा गर्न गाह्रो भयो ।’

संघले स्वदेशी कम्पनीले आयात गर्ने कच्चा पदार्थमा भन्सार शुल्क कम हुनुपर्ने बताएको छ ।

संघका अध्यक्ष साखःले कच्चा पदार्थ आयातमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क हुन नहुने बताए ।

‘नेपालमा ५० वटाभन्दा बढी पेन्ट उद्योग छन् । ती उद्योगमा २८ सयभन्दा बढी श्रमिक कार्यरत छन्,’ उनले भने, ‘यस क्षेत्रलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थमा एउटै प्रकारका हर्मोनाइज कोडको व्यवस्था र एउटै भन्सार शुल्क कायम गर्नुपर्छ ।’

साखःका अनुसार एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर न्यायपूर्ण छैन ।

‘इमल्सन एचएसएन ३९.०६ कोड अन्तर्गत १० प्रतिशत भन्सार शुल्क तोकिएको र साफ्टाको सुविधा पनि छ,’ उनले भने, ‘तर एचएसएन ३२.०९ कोड अन्तर्गत भन्सार शुल्क ३० प्रतिशत र साफ्टामा पनि सुविधा छैन ।’

उनले एक्रिलिक पोलिमरको आयातमा श्रीलंका, बंगलादेश र भारतजस्ता मुलुकले १० प्रतिशत मात्र भन्सार शुल्क कायम बताउँदै नेपालमा पनि सोही अनुसार भन्सार शुल्क कम गर्नुपर्ने माग गरे ।

संघले वित्तीय ऐनले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत भन्सार शुल्क कायम गरेको छ ।
पेन्ट उद्योगहरूले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११.०० मा आयात गर्ने गरेको हुनाले एचएसएन कोड सच्याउन संघको माग छ । साथै, करार उत्पादन गर्ने/गराउने प्रावधानको लागि सरकारलाई नीतिगत सुधार गर्न पनि पेन्ट उद्योगहरूले आग्रह गरेको छ ।

अहिले नेपाली पेन्ट उद्योग गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर भइसकेका छन् । रोजगारी र राजस्वमा उल्लेखनीय योगदान पुर्याउँदै आएकाले राज्यले उद्योगको समस्या समाधानमा सम्बोधन गर्नुपर्ने संघको माग छ ।

Source: https://www.lokaantar.com/story/181478/2022/5/6/economy/paint-

Leave a Reply

Your email address will not be published. Required fields are marked *